यसरी भत्किए आशा र अपेक्षाका पर्खालहरु !
मलाई लाग्थ्यो कि हरेक नागरिकले आ-आफ्नो काम र जिम्मेवारी पूर्ण रुपमा पुरा गरेमा देश स्वतः समृद्ध बन्छ,शान्ति र अमनचयन कायम हुन्छ।नेपालमा विकासको संभावना प्रचुर छ।एक दिन यो देश समृद्ध बन्छ।देश बनाउने हामी जनताले नै हो।आम जनताले राजनीतिमा चासो किन राख्नु पर्यो र ! खुरु खुरु आफ्नो पेशा व्यवसाय गरे भैगो त ! युरोप र अमेरिकातिर यस्तै हुन्छ भन्ने सुनिन्छ।जनताले भोट हाल्ने दिन मात्र राजनीतिक दलप्रति सोधखोज गर्छन् रे,घोषणापत्र पढछन् रे आदि आदि।
देशको अवस्था
दुर्भाग्य हाम्रो देशमा यो सम्भव नहुने रहेछ।आजकल मेरो आशा र अपेक्षाको धरातल नराम्रोसँग फाटेको छ।सकारात्मक सोच्छु,आफ्नो काम र परिवारप्रति ध्यान दिन्छु भनेर वाचा गर्छु।तर आम जनतामा बढिरहेको तिव्र वितृष्णा,असन्तुष्टी,नेताहरुको राजनीतिक दाउपेच,देशको सार्वभौमसत्ता र अखण्डता माथिको प्रहार,विदेशिन बाध्य युवाहरुको अवस्था,विदेशिएका युवाहरुका पिडा,सामाजिक सञ्जाल, सडक,सदन र सरकारबाट आउने नकारात्मक समाचार र घटनाको भुमरीले मनमा उब्जेको आशाको दियोलाई निभाइ हाल्छ। जसरी पानीको मूलनै फोहोर भएपछि जतिसुकै फिल्टर गरेर पिए पनि दुषित पानीको असर पर्छ।त्यसै गरि देशको मूलः राजनीति र सरकार नै दुषित भएपछि,अन्य क्षेत्रमा यसको प्रभाव नपर्ने कुरौ भएन।
सकारात्मक बन्न कतिपटक त सामाजिक सञ्जाल हेर्दिन भनेर प्रण गरेँ।तर सूचना,सन्चार,ज्ञान र पेशागत वृत्ति विकासको लागि समेत सामाजिक सन्जालको प्रयोग अनिवार्य भएको वर्तमान अवस्थाले गर्दा वाचा तुहेर गयो। दुई चार जना मान्छे भेटेको ठाउँमा देश,सरकार र राजनीतिकै चर्चा सुन्नु पर्ने। सकारात्मक कुरा खोज्यो तर मरुभुमिमा पानी खोजे जस्तो हुने।
नागरिकको अवस्था
देशमा व्याप्त वेतिथि,बेरोजगारी,भ्रष्ट्रचार,महंगी,स्वार्थका दाउँपेचले गर्दा होला नेपालमा मनोचिकित्साको सेवा क्षेत्र बढदै गएको।पाठवर्गलाई पढ्दा पत्यार नलाग्न पनि सक्ला तर देशको अवस्थाले धेरै नेपालीहरुको मानसिक स्वास्थ्यमा प्रतिकुल प्रभाव पारेको छ।आत्म हत्या गर्ने मध्ये धेरै नेपालीहरुको एउटा अप्रत्यक्ष कारण देशको अवस्था पनि हो भन्ने लाग्छ मलाई त।भलै यसको बारेमा अनुसन्धान भएको छैन होला।देशमा रोजगारीको अबसर छैन,व्यापार व्यवसायको लागि उपयुक्त वातावरण छैन्। एयरपोर्टमा दैनिक हजारौँ युवा युवतीको विदेश जाने लर्को छ।विदेशिनु बाध्यता छ,परिवार छोड्दा हुने पिडा,सामाजिक सन्जालको दुरुपयोगबाट हुने पारिवारिक सम्बन्धमा दरार,विछोड र हिंसा आदिका कारण कतिपय आम युवायुवतीले अकालमा ज्यान फालेका छन्।
देशमा बढेको कुशासनलाई कतिपयले त सामाजिक सञ्जालमा लेखेर, चियापसल,सडक र सार्वजनिक स्थलमा आक्रोष पोखेर भए पनि आफ्नो मनभित्र गुम्सिएको दिक्दारीबाट मुक्त भएर गलत बाटो रोजेका छैनन्।तर जो अभिव्यक्त गर्न सक्दैनन्,आर्थिक र पारिवारिक पिडाबाट समेत ग्रसित छन् तिनिहरुले गलत बाटो समेत रोजेका छन्।कतिपय औषधीको सेवनमा जेनतेन बाचेका छन्।
किन हुन सकेन देश विकास
विद्यार्थी जीवनमा विश्वको सबैभन्दा गरिब राष्ट्र इथियोपिया भनेर पढियो तर अहिले इथियोपियाको आर्थिक वृद्धि सुन्दा र पढदा पत्यार लाग्दैन।यता हामी करिब ३० खर्बको वैदेशिक ऋणमा डुबेका छौँ।देश ग्रे लिस्टमा परेको छ।दुर्भाग्य हामी नेपाली प्राकृतिक तथा मानवस्रोत साधनमा धनी भएर पनि किन समृद्ध बन्न सकेनौ! घोत्लिन मन लाग्छ अनि त फेरी पुगिन्छ राजनीति,सरकार,दल र नेतामा नै!यो देश कसले बिगार्यो त भनेर आम जनमानसलाई सोध्ने हो सहजै उत्तर आउछ, नेता र कर्मचारीले ! नेता र कर्मचारीलाई सोध्यो भने देशमा बिगतको तुलनामा विकास भएको छ त भन्ने दाबी प्रस्तुत हुन्छ।नेताहरु बहुदलिय व्यवस्था पछि देशमा भएको विकासको लामो फेहरिस्त सुनाउ छन्।बिगत दुई तिन दशकमा हाम्रो अवस्थामा रहेका देशहरुले कति प्रगति गरे भन्ने यर्थाथता उनीहरुलाई थाहा भएर पनि बुझ पचाउँछन्। युवा वेचेर रेमिटेन्सले आम जनजिवनमा आएको परिवर्तनलाई नै विकास मान्ने हो भने त के भनौ र खै! देशको वैदेशिक ऋण ले पनि झलक दिन्छ कि देशमा साच्चै मौलिक विकास भएको हो कि होइन भन्ने।युरोप,अमेरिका,जापान,कोरिया आदि देशहरुले देशको युवा जनसंख्या अधिक हुँदा विकास गरे वा प्राविधिक रुपमा भन्दा जनसांख्यिक लाभांशको फाइदा उठाए तर हाम्रो देशले इतिहासमा एक पटक पाउने जनसाख्यिक लाभांशलाई विदेश निर्यात गरेर अरुको देश बनाएको छ।केही वर्ष पछि देश वृद्ध आश्रम बन्ने संभावना छ।वास्तवमा भन्दा देशको यो अबस्था बनाउनुमा अधिकांश नेता,कर्मचारी,आम बुद्धिजिवी भनाउँदाहरु,व्यापारी र दलालहरु नै हुन् भन्दा अत्युक्ति नहोला।एउटा साधरण किसान,मदजुर,र विदेशिन बाध्य नागरिकले हो यो देश अहिले सम्म बचाइराखेको।
बिगत र वर्तमानको झलक
कक्षा १० को नेपाली पुस्तकको टीका शीर्षकको एकाँकीमा रहेको संवादको एउटा लाइनले मेरो जीवनमा गहिरो प्रभाव पारेको थियो।एकाँकीमा आमाले प्रदेश जान चाहेको छोरालाई भन्छिन्,"एक गाग्री पानी अटाएको ठाउँमा एक अंजुली पानी कसो नअटाउँलास र!"आमाको आशय थियो।यो देशमै बस्नुपर्छ ।यही केही गर्नुपर्छ,यहि देशमै संभावना छ।त्यसैगरि इतिहास अध्ययन गर्दा पृथ्वीनारायण शाहको दिब्य उपदेश,रणबहादुर शाहको नेपाल एकिकरणको अभियान,अमरसिंह थापा,बलभद्र कुबर,काजी उजिरसिंह,भक्ति थापा आदिको विरताको गाथाले देशभक्तीको नमिटिने गरि जरो गाडिरह्यो।
विश्वविद्यालय पढ्दा विभिन्न देशका डायसपोरा नागरिकले भोगेका पहिचानको पिडा सम्बन्धि लेखहरुबाट प्रभावित भइयो। सायद यसैकारण होला साथीहरु विदेश जाँदा,पैसा कमाउँदा,उतैका स्थायी बासिन्दा हुँदा पनि यही देशमा भविस्य खोजेर बसियो।देशमै संर्घष गरि दुई छाक टार्न सकिने पेशामा प्रवेश गरियो।यहि देशमा केही होला भन्ने आशामा। गतसाल छोराले १२ कक्षा पास गरेपछि, “बाबा,अब विदेश जान्छु,यो देशमा भविष्य छैन्।मेरा सबै साथीहरु विदेश जाने भए,उतै पढछु।यहाँ जागिर पाउन गाह्रो छ।“ भन्दा छोरालाई खुब झपारेँ,"मैले यहि बसेर तिमीहरुलाई पालनपोषण गरको छु त!केही कुराको कमी हुन दिएको छैन!"भलै उसका चाहानाहरु निचोरेको यथार्थतालाई भुलेर, बाउको रवाफ देखाएँ। अब त केहि होला कि देशमा भनेर।
तर आजकल छोराछोरीको भविष्यले पिरलिरहेको हुन्छ।निर्दोष छोराछोरीको भविष्यमाथि खेलवाड गरेकि जस्तो लाग्न थालेको छ।हुन त प्रदेशको जीवन यहाँ भन्दा कठिन र डरलाग्दो हुनसक्छ।तर यो देशमा जबर्जस्ती राखेर कतै अबोध मानसिकतामा असर पारेँ कि,उड्न खोजेको पंक्षीको पखेटा बाधेँकि भन्ने पनि लाग्छ।
बाजेहरुले राणाशासनको विरुद्धको आन्दोलनमा दललाई साथ दिए।प्रजातन्त्रले सन्ततिको भविष्य राम्रो होला भनेर।बाहरुले पन्चायतको विरुद्धमा आवाज उठाए।हाम्रै भविष्य सुनौलो होला भनेर।आफुले गणतन्त्रको पक्षमा आवाज उठाइयो।तर व्यवस्था बदलियो अवस्था उस्तै ! यो व्यवस्था आए हुन्छ कि त्यो व्यवस्था आए हुन्छ कि भनेर विकल्प खोजिरहियो ।दुर्भाग्यवश मरुभुमिमा हरिणले पानीको ताल देखे झै भएको छ।यो गठबन्धन सरकारले गर्छ कि अर्कोले गर्छ कि भन्ने भ्रम अब भने सकिएको छ। देशमा विधिको शासन र समृद्धिको लागि राजनितिक स्थिरता चाहिन्छ भन्ने नेताहरुको भाषणमा विश्वास गरियो ।अफसोच लामो इतिहास बोकेका,जेल नेल भोगेका,भूमिगत युद्ध छेडेका प्रमुख दलहरुको गठबन्धन सरकारको शासन भोगेपछि मात्र चेत खुलेको छ कि, अब त, देश बन्ला भन्ने कुनै आशा,भरोसा र अपेक्षा बाकी छैन्।देश बेचियो रे, शरणार्थी भइयो रे भन्ने सुन्न नपरोस भनेर भगवानसँग प्रार्थना गर्नु सिवाय अरु केही बाँकी रहेन अब त।

0 Comments