शिक्षक सेवा आयोग
२५%आन्तरिक प्रतियोगितात्मक बढुवा परीक्षा
मावि,निमावि र प्रावि तहको लागि
विषयगत
प्रश्न १: सार्वजनिक विद्यालयमा
हुने सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइको विद्यमान अभ्यासको समीक्षा गर्दै यसको
कार्यान्वयनबाट विद्यालय र समुदायको सम्बन्ध, सुशासन, उत्तरदायित्व
एवम् विद्यालय सुधारमा पुग्ने योगदान विषयमा विवेचना गर्नुहोस्।
उत्तर:
विद्यालयको सामाजिक परिक्षण भन्नाले प्रचलित
कानुन बमोजिम विद्यालय सुधार योजना,विद्यालयसँग सम्बन्धित अभिलेखहरु र अन्य
दस्तावेजहरुका आधारमा गरिने विद्यालयका सम्पूर्ण गतिविधिहरुको गुणात्मक र
परिमाणात्मक परिक्षणलाई बुझिन्छ।विद्यालयले सञ्चालन गरेका कार्यहरू, सेवा
प्रवाह, शैक्षिक गुणस्तर, बजेटको
उपयोग, शिक्षकको कार्यसम्पादन, विद्यार्थीको
उपलब्धि, अभिभावकको सन्तुष्टि आदि विषयमा सरोकारवालासँग प्रत्यक्ष अन्तरक्रिया गर्ने
औपचारिक कार्यक्रमलाई सार्वजनिक सुनुवाइ भनिन्छ।सामाजिक परीक्षण र
सार्वजनिक सुनुवाइ विद्यालय सुशासनका महत्वपूर्ण पक्षहरु हुन्।
- विद्यमान अभ्यासको समीक्षा:
- कर्मकाण्डी अभ्यास: नेपालका
अधिकांश सार्वजनिक विद्यालयहरूमा सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइ एउटा
कानुनी बाध्यता पूरा गर्ने "कर्मकाण्ड" मा सीमित छ। यसलाई विद्यालय सुधारको जीवन्त
औजारको रूपमा नभई, वर्षको
एकपटक आय-व्यय विवरण पढेर सुनाउने र हाकिमलाई प्रतिवेदन बुझाउने प्रक्रियाको
रूपमा मात्र लिइन्छ।
- आफ्ना मान्छे" को सहभागिता: यस्ता
कार्यक्रमहरूमा प्रायः विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूका नजिकका,
उनीहरूको आलोचना नगर्ने व्यक्तिहरूलाई
मात्र बोलाउने प्रवृत्ति छ। जसले गर्दा वास्तविक सरोकारवाला र आलोचनात्मक
दृष्टिकोण राख्ने समुदायको आवाज दबाइन्छ।
- शैक्षिक पक्षको बेवास्ता: छलफल
केवल भौतिक निर्माण (भवन, शौचालय,
पर्खाल) र आर्थिक पारदर्शिता (बिल-भर्पाई)
मा केन्द्रित हुन्छ। सिकाइ उपलब्धि किन खस्कियो? शिक्षक कक्षामा नियमित छन् कि छैनन्?
बालबालिकाले के सिके? जस्ता महत्त्वपूर्ण शैक्षिक प्रश्नहरूमाथि
गम्भीर बहस हुँदैन।
- रचनात्मक सुझावको अभाव: यो केवल
कमजोरी देखाउने र आरोप-प्रत्यारोप गर्ने मञ्च बन्ने खतरा हुन्छ। समस्याको
पहिचानसँगै त्यसको समाधानका लागि समुदायले के सहयोग गर्न सक्छ र विद्यालयले
के गर्नुपर्छ भन्नेबारे रचनात्मक र सहयोगात्मक संवादको अभाव देखिन्छ।
यदि
वास्तवमै सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइको मर्म अनुसार कार्यान्वयनमा लैजाने
हो भने यसबाट विद्यालयको चौतर्फी विकासमा निम्नलिखित सुधारहरु हुन सक्छन्।
- विद्यालय र समाजबिचमा सुमधुर सम्बन्ध:सामाजिक परीक्षण र सार्वजनिक सुनुवाइले
विद्यालयका निकट सरोकारवालाहुरुलाई विद्यालयको वास्तविक अवस्थाको जानकारी
दिन्छ जसले गर्दा विद्यालयप्रति समाजको विश्वास,अपनत्व र सुमधुर सम्बन्ध
बढछ।विद्यालय समाजको लागि र समाज विद्यालयको लागि भन्ने मर्म साकार हुन्छ।
- लोकतान्त्रिक अभ्यास र सुसासनको
प्रत्याभुति: विद्यालय केवल अक्षर चिनाउने ठाउँ मात्र होइन,
यो लोकतन्त्रको पहिलो पाठशाला हो।
सार्वजनिक सुनुवाइले बालबालिका र समुदायलाई प्रश्न सोध्न, आफ्नो मत राख्न र सामूहिक निर्णय
प्रक्रियामा सहभागी हुन सिकाउँछ। सामाजीक परीक्षण र सार्वजनिक सुनुवाइबाट
विद्यालयका गतिविधिहरुको पारदर्शिता,जवाफदेहिता र अपनत्वमा अभिवृद्धि हुन्छ।
- उत्तरदायित्वको संस्कृति: जब
शिक्षक र प्र.अ. ले आफ्नो कार्यप्रगतिको विवरण समुदायसामु प्रस्तुत
गर्नुपर्छ, तब
उनीहरूमा स्वतः उत्तरदायित्वको भावना विकास हुन्छ।
- नवीन सुधारको ढोका: विद्यालयको
समग्र विकासको आधार समाजनै भएको हुँदा यस्ता कार्यक्रमले समाजका
शिक्षाप्रेमी र समाजसेवीहरुलाई विद्यालयको नजिक ल्याउने हुँदा उनीहरुबाट
विद्यालयको आर्थिक,भौतिक तथा शैक्षिक विकासमा प्रत्यक्ष अप्रत्यक्षरुपमा
सहयोग पुग्न सक्छ।जसले गर्दा विद्यालयको नविन सुधारको ढोका खुल्छ।

0 Comments